काठमाडौं, मंसिर १९ :

निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग तयार रहेको बताएका छन्।

निर्वाचन आउन अब ९० दिन बाँकी रहँदा आज  कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको र कार्यतालिका, कार्यक्रम प्रकाशन गरी सोहीअनुसार काम गरिरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताएका हुन्।

उनले आजै प्रधानमन्त्री सुशीला कार्कीले डाक्नुभएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा आयोगले निर्वाचनका  लागि आयोग तत्पर रहेको स्पष्ट राखेको जनाए । “हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ”, उनले भने, “अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ । यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ ।” निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ ।

आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

यसअघि गत मङ्सिर १४ गते सम्ममा निर्वाचनमा भाग लिने १२० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् ।