नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्व चयनमा प्रतिस्पर्धा अनिवार्य हुनुपर्ने बताएका छन्। सोमबार बागबजारस्थित एक होटलमा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले प्रतिस्पर्धा नै पार्टीलाई बलियो बनाउने आधार भएको उल्लेख गर्दै हाल भने यो प्रक्रियामा गम्भीर विचलन आइरहेको आरोप लगाए।
आगामी ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वसम्बन्धी समूहका नेताहरू सहभागी कार्यक्रममा पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक लोकतन्त्र कमजोर पारेको आरोपसमेत लगाए।
उनका अनुसार ओलीकै नेतृत्वमा एमालेलाई लोकतान्त्रीकरण गर्ने प्रयास सुरु भए पनि पछिल्ला वर्षहरूमा त्यसलाई उल्ट्याउने काम भइरहेको छ। पाण्डेले पार्टी व्यक्तिवादीकरणतर्फ उन्मुख भएको दाबी गरे।
यस्तै, उनले पार्टीमा अध्यक्षको अधिकतम दुई कार्यकाल सीमित गर्ने व्यवस्था कानुनमै गर्नुपर्ने पनि सुझाव दिए। एमाले मात्र होइन, अन्य पुराना तथा नयाँ भनिने दलहरूमा समेत लोकतान्त्रिक प्रक्रिया कमजोर रहेको उल्लेख गर्दै उनले संविधानमै पार्टी नेतृत्वको कार्यकाल स्पष्ट व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।