काठमाडौं, मंसिर २३ :

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले लैङ्गिक हिंसा र साइबर अपराध आजको मुख्य चुनौती बन्दै गएको बताएका छन् ।

आज विहान गान्धी आदर्श मा.वि.मा आयोजित समुदाय–प्रहरी साझेदारी तथा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गतको ‘साइबर अपराध र लैङ्गिक हिंसा विरुद्ध’ विषयक कार्यक्रममा बोल्दै एआईजी कार्कीले हाल साइबर अपराधको दायरा विस्तार हुँदै समाजलाई गम्भीर चुनौती दिइरहेको बताए।

कागेश्वरी मनोहरा वडा न. ७,८,९ , प्रहरी बित्त बानेश्वर, सामुदायीक सेवा तथा विकाश समाज एवं सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर -३२, प्रहरी प्रभाग काडाघारी र गान्धी आदर्श माध्यमिक विद्यालयको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा उनले यस्ता समस्यालाई नियन्त्रण र निर्मूल गर्न समुदाय स्वयं सचेत र संगठित हुनु आवश्यक रहेको बताए। ‘अपराध विरुद्ध समुदायकै विद्रोह जरुरी छ। सबै सचेत हुनुपर्छ, नेपाल प्रहरी समाजकै साथमा रहनेछ,’ उनले भने।

त्यस्तै, जिल्ला प्रहरी परिसर भद्रकालीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राम थापाले पनि डिजिटल माध्यममार्फत गरिने हिंसाका घटना तीव्र रूपमा बढ्दै गएको बताएका छन्। 

उनका अनुसार डिजिटल हिंसाबाट प्रभावित हुनेमध्ये करिब ९० प्रतिशत महिला रहेको र यसले मानसिक तनावदेखि डिप्रेसनसम्मका गम्भीर समस्या निम्त्याइरहेको छ। एसएसपी थापाले पछिल्लो समय ड्रग दुव्र्यसनका कारण आपराधिक गतिविधि बढ्न थालेको भन्दै सबै मिलेर लागूऔषधलाई तिरस्कार गर्नुपर्नेमा समेत जोड दिए।