
सर्वोच्च अदालतको परमादेशपछि पुनः नेपाल विद्युत् प्राधिकरण (नेवप्रा) का कार्यकारी निर्देशकमा फर्किएका हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग समन्वयमा अघि बढाउने प्रतिवद्धता जनाएका छन्।
बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै उनले सरकारसँग मिलेर बाँकी कार्यकालको अवधिमा उत्कृष्ट नतिजा दिने गरी गर्ने प्रतिबद्धता जनाए ।उनले प्राधिकरणले जनतालाई दिगो र भरपर्दो विद्युत् उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने बताए।
अबका दिनमा प्राधिकरण आफैंले पनि उत्पादन बढाउनेछ, उनले भने। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कुनै प्रक्रिया नअपनाई आफूलाई हटाएको निर्णय अदालतले उल्ट्याइदिएपछि शाक्य पुरानै कार्यभार सम्हाल्न प्राधिकरण पुगेका हुन्।
शाक्यले कार्यकारी निर्देशक भएकै कारण आफू आक्रमणमा परेको भन्दै नआत्तिएको स्पष्ट पारे। ‘प्राधिकरणमा तीन दशकभन्दा लामो समय मैले निश्वार्थ सेवा गरेको छु। देश र संस्थाको सेवामा निरन्तर लागिरहनेछु,’ उनले भने। अदालतले समयमै सुनुवाइ गरेकोमा आभार व्यक्त गर्दै शाक्यले यसपटक न्याय पाएको बताए।
५ असोजमा मन्त्रिपरिषद्ले शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गर्दै मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको निर्णय कानुनविपरीत ठहर गर्दै सर्वोच्चले सोमबार उक्त निर्णय खारेज गरेको थियो।