काठमाडौं, मंसिर २४ :

 कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार सम्पन्न भएको छ। 

समापन कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर उपेन्द्र कार्कीले महिला तथा अल्पसंख्यक समुदायलाई शैक्षिक र आर्थिक रूपमा सशक्त नबनाएसम्म  हिंसा अन्त्य हुन नसक्ने बताए । 

साथै उनले प्रविधिले सहजता सँगसँगै जटिलता पनि निम्त्याइरहेको र यसलाई बुझ्न नसक्दा समस्या उत्पन्न हुने भएकोले सचेत रहनुपर्ने धारणा व्यक्त गरे। मेयर कार्कीले बालबालिकालाई संस्कारसहितको गुणस्तरीय शिक्षा दिनुपर्ने र पूर्वीय दर्शनमा आधारित ज्ञान प्रदान गर्नु आवश्यक रहेकोमा समेत जोड दिए।

यस्तै, उपमेयर शान्ता थापाले समय परिवर्तन भए पनि हिंसा अझै पनि समाप्त नभएको बताइन्। उनले महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको कुरामा पनि चिन्ता व्यक्त गरेकी छन्।

यसैगरी,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले अव्यवस्थित संरचनाका कारण मानव बेचविखन र लैङ्गिक हिंसाका घटना बढिरहेको खुलासा गरेका छन्। सो अवसरमा उपमेयर थापाले अभियानमा सहभागी भएका विभिन्न संस्था तथा व्यक्तिहरुलाई कदरपत्र प्रदान गरिन् ।

समुदायमा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउन र महिलासहित सबैलाई समान अवसर सुनिश्चित गर्ने दिशामा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिएको छ ।