काठमाडौं, मंसिर २५ :

सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत् प्राधिकरण (नेपा) का कार्यकारी निर्देशकमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङले प्राधिकरण पूर्ण क्षमतामा काम गर्ने महत्वपूर्ण मोडमा रहेको बताउँदै त्यस्तो अवस्थामा कुनै सम्झौता वा कमजोरी स्वीकार्य नहुने स्पष्ट सन्देश दिए। आफू ‘नतिजामा विश्वास गर्ने’ व्यक्तित्व भएको उल्लेख गर्दै उनले प्राधिकरणले गर्ने काम अब प्रत्यक्ष परिणामका रूपमा देखिनुपर्ने बताए।

शाक्यले भने विगतमा पनि घिसिङसँग समन्वयमै काम गरेको स्मरण गर्दै यसपटक पनि सहकार्यमा समस्या नहुने बताएका छन्।

सर्वोच्च अदालतले ५ असोज २०८२ को मन्त्रिपरिषद् निर्णय कानुनविपरीत भएको ठहर गर्दै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्न आदेश दिएको थियो। अदालतले मन्त्री घिसिङद्वारा शाक्यलाई हटाउने प्रस्ताव ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण र स्वेच्छाचारी’ देखिएको निर्णयमा उल्लेख गरेको छ।

परमादेश प्राधिकरणमा पुगेपछि शाक्य बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। मन्त्री बनेपछि घिसिङले शाक्यलाई हटाई आफ्ना निकट सहयोगी मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएका थिए, जसलाई अदालतले खारेज गरिदिएको हो।