ललितपुर, मंसिर २६ :

नेपालको अग्रणी सौन्दर्य सेवा तथा तालिम प्रदायक संस्था गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमीले आफ्नो सातौँ शाखा ललितपुरको कुमारीपाटीमा विस्तार गरेको छ।

नयाँ शाखाको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र पूर्व मिस नेपाल रुबी राणाले संयुक्त रूपमा उद्घाटन गरे। संस्थाकी अध्यक्ष चिनु गुरुङका अनुसार कुमारीपाटीस्थित नयाँ शाखामा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोगमार्फत सम्पूर्ण सौन्दर्य सेवा उपलब्ध हुनेछ।

उनका अनुसार सेवाग्राहीको सन्तुष्टि नै हाम्रो प्रेरणा हो भन्ने लक्ष्यका साथ संस्थाले सेवा विस्तार गरिरहेको छ। पोखराबाट सुरु भएको गुरुङ ब्युटीपार्लर तथा एकेडेमी कुमारीपाटीसहित हाल सात वटा शाखामा सेवा दिइरहेको छ, र देशभर सेवा विस्तार गर्ने योजनामा रहेको अध्यक्ष गुरुङले बताइन्।

सन् १९९५ मा स्थापना भएको यस संस्थाले विगत तीन दशकदेखि सौन्दर्य सेवा तथा तालिममार्फत सयौँलाई रोजगारी प्रदान गर्दै आएको छ। बेरोजगारी न्यूनीकरण, आर्थिक सशक्तिकरण, आत्मनिर्भरता र सीप विकासलाई मूल मन्त्र बनाउँदै संस्थाले सीपमूलक तालिममार्फत युवा तथा महिलालाई उद्यमशीलतामा अघि बढाउँदै आएको छ।

गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमी अहिले नेपालकै चर्चित सौन्दर्य ब्रान्डका रूपमा स्थापित छ। विशेषगरी यसअन्तर्गतको गुरुङ ब्युटी एकेडेमी देशकै प्रतिष्ठित सौन्दर्य तालिम संस्थामध्ये एक मानिन्छ।

एकेडेमीले सीटीइभीटी तथा एनएसटीबी मान्यता प्राप्त ब्युटिसियन कोर्स, कस्मेटोलोजी, बार्बरिङ, एस्थेटिक्स लगायतका व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको छ। अनुकूलित प्याकेज र व्यावहारिक सिकाइका माध्यमबाट आवश्यक सीप र ज्ञान प्रदान गर्दै आएको एकेडेमीबाट प्रशिक्षित विद्यार्थीहरू आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सफलतापूर्वक कार्यरत छन्।

विज्ञ प्रशिक्षक, मैत्रीपूर्ण वातावरण र व्यावहारिक सिकाइका कारण गुरुङ ब्युटी एकेडेमी सौन्दर्य क्षेत्रमा करियर निर्माण गर्न चाहनेका लागि विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।