
नेकपा (एमाले) को ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको सभास्थल लगभग तयार भइसकेको बताइएको छ। मंसिर २७ देखि २९ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र भोलि सल्लाघारीमै हुनेछ।
देशभरका जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटनस्थल अवलोकन, पार्टी कार्यालय भेटघाट, भिडियो तथा सामाजिक सञ्जाल सामग्री निर्माणजस्ता गतिविधिमा व्यस्त रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार अधिकांश महाधिवेशन प्रतिनिधिहरू आजसम्म आइपुगेका छन्।
उद्घाटनस्थललाई विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरको स्थापत्य शैली झल्किने गरी निर्माण गरिएको छ। मञ्चलाई मल्लकालीन सौन्दर्य र उपत्यकाका सांस्कृतिक पहिचान समेटिने गरी विशेष डिजाइन गरिएको छ। मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता र स्थानीयको भीड बढिरहेको छ।
मञ्च निर्माणमा खटिएकी एमाले भक्तपुर जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले मञ्चको मुख्य संरचना लगभग तयार भइसकेको जानकारी दिए। उनका अनुसार करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार र अन्य संरचनाहरूको निर्माण अन्तिम चरणमा पुगेको छ। चाँगुनारायण मन्दिरको आभास दिनेगरी तयार भएको मुख्य मञ्च बाहिरैदेखि आकर्षक देखिने र मञ्चबाट मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको जस्तो अनुभव हुनेगरी सजावट गरिएको छ।
उद्घाटनका दिन झाँकी प्रदर्शनका लागि छुट्टै गेट, प्रमुख तथा विशिष्ट अतिथिका लागि विशेष प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण भइरहेको छ। करिब ३ लाख जनासम्म अट्ने व्यवस्था मिलाइएको छ।
अनुगमनका क्रममा पुगेका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले १० हजार नेशनल भोलेन्टियर्ससहित विभिन्न जनसंगठनका स्वयंसेवक परिचालन गरिने जानकारी दिए। विशेष पोसाकमा ५५० स्वयंसेवक छुट्टै तवरले परिचालन गरिनेछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ गते मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यस अवसरमा पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल र्यालीसहित सहभागीहरू सभास्थल प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।