
नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रुपमा समाधानको प्रयास गर्ने बताएका छन् ।
शुक्रबार मन्त्री पदको सपथपछि सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू उपयोगका लागि देखिएका समस्यालाई समाधानको प्रयास गर्ने बताएका हुन्।
बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दु:ख पाएको उनको भनाइ थियो । मन्त्री इङ्नामले बाँझो रहेका जमिनलाई उपयोग गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखे ।
नेताहरुले जनताको हितमा काम नगरेकाले जनताहरुले सधै समस्या भोग्नुपरेको उहाको भनाइ छ । मन्त्री इङ्नामले भूमि आयोगका नाममा आफूखुसी जग्गा बितरण गर्ने काम अव नदोहरिने भन्दै पीडित जनतालाई न्याय हुने गरी अघि बढ्ने स्पष्ट पारे । उनले आफ्नो छोटो कार्यकालमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी क्षेत्रलाई सही दिशा दिने प्रयास हुने बताए ।