काठमाडौं, मंसिर २८ :

विघठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्लाई कमजोर बनाउने र बन्देजमा पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। संघीय संसद् सचिवालय दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटनको कुनै सान्दर्भिकता नरहेको जिकिर गरे।

सभामुख घिमिरेले पछिल्लो समय सरकारले संसद् र संसद् सचिवालयमाथि आर्थिक तथा प्रशासनिक रूपमा अदृश्य बन्देज लगाउन खोजेको आरोप लगाए। उनले संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा र दरबन्दी घटाउने सरकारको प्रयासप्रति असन्तुष्टि जनाउँदै संघीय संसद्लाई सरकारअन्तर्गतको कुनै एउटा शाखाजस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पारे।

‘२७ भदौमा गएर संसद्लाई नै विघटन गरिएको छ। यसको कुनै सोझो सान्दर्भिकता देखिँदैन र छैन। यो संसदीय व्यवस्थामाथिको प्रहार हो,’ सभामुख घिमिरेले भने। पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक दबाब सिर्जना गरिरहेको उल्लेख गर्दै उनले सभामुखको हैसियतले स्पष्ट शब्दमा संसद् सरकारको अधीनमा रहने कुनै शाखा नभएको र हुन नसक्ने बताए।

शक्ति पृथकीकरणको सिद्धान्तको स्मरण गराउँदै सभामुख घिमिरेले संसद् आफैंमा पूर्ण स्वायत्त निकाय भएको बताए। संसद्को बजेटमा अर्थ मन्त्रालयले ‘कैँची चलाउनु’ र कर्मचारीको सेवा, सुविधा तथा दरबन्दीमा प्रशासनिक अवरोध पुर्‍याउनु अप्रत्यक्ष रूपमा कार्यकारीले व्यवस्थापिकालाई नियन्त्रण गर्न खोजेको प्रयास भएको उनको भनाइ थियो।