
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टीको ‘अभिभावक’ भएर बस्न सुझाव दिएका छन् । ११ वर्षदेखि पार्टी अध्यक्ष र ६ वर्षसम्म प्रधानमन्त्री भइसकेकाले अध्यक्ष ओलीले गर्नुपर्ने नयाँ भूमिका अब बाँकी नरहेको उनको भनाइ छ ।
११औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नु पर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको नेतृत्व अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेतृत्वको जिम्मा आफूहरूलाई दिन आग्रह गरे । उनले यो महाधिवेशनलाई एकताको सन्देश दिने महाधिवेशनका रूपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए ।
यसक्रममा पोखरेलले पार्टीभित्र लोकतान्त्रीकरण र नेतृत्व हस्तान्तरणका विषयमा अध्यक्ष ओलीलाई उनकै पुस्तकको प्रसंग जोड्दै प्रश्नसमेत गरे । अध्यक्षका प्रत्याशीसमेत रहेका पोखरेलले ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ पुस्तक उद्धृत गर्दै उमेरहद र कार्यकालको सीमाबारे प्रश्न उठाएका हुन् ।
पोखरेलले स्मरण गराउँदै भने कि अध्यक्ष ओली आफैंले पनि कुनै बेला एमालेमा नेतृत्व हस्तान्तरणबारे कडा प्रश्न उठाएका थिए । ओलीले उक्त पुस्तकमा ‘आफूबाहेक अरूले पार्टीको नेतृत्व गर्न सक्दैनन् भन्ने मनोवृत्तिले नयाँ नेतृत्वको निर्माण कसरी सम्भव हुन्छ ? राष्ट्रले नयाँ नेतृत्व कसरी पाउँछ ?’ भन्ने प्रश्न उठाएका छन् ।