काठमाडौं, मंसिर २९ :

नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रदेखि वडा कार्यालय बन्द गर्ने भएको छ ।  आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सो निर्णय गरेको  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकले मङ्सिर २९,पुस १ र २ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।  

उपाध्यायको स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा उपाध्यायको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । आजको बैठक उपसभापति धनराज गुरुङको सभापतित्वमा बसेको थियो ।

२०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत भएका उपाध्याय २०५६ मङ्सिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

यसैगरी २०५६ मा शिक्षा तथा खेलकुद मन्त्री बनेका थिए भने २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात् पुनर्स्थापित व्यवस्थापिका संसद्को सदस्य थिए भने २०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन १ बाट निर्वाचित स्वर्गीय उपाध्यायले  २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर पनि काम गरेका थिए ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं नेता आमोदप्रसाद उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो ।

उनको निधनप्रति कार्यसमिति बैठकले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

उनको आत्माको चिर शान्तिको कामना साथ दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति समवेदना पनि बैठकले प्रकट गरेको छ ।