
नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदको उम्मेदवारी दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ। निर्वाचन प्रक्रिया सुरु भएसँगै मंगलबार हुने मतदानका लागि उम्मेदवारी शुल्क पनि सार्वजनिक गरिएको हो।
अध्यक्ष बाहेक पदाधिकारी तथा केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यसैगरी, केन्द्रीय सदस्य तथा आयोगका अन्य पदाधिकारीका लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल बीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। दुवै नेताले आ–आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएका छन्। उपाध्यक्ष, उपमहासचिव र सचिवलगायत पदका उम्मेदवार दुवै पक्षले टुंगो लगाइसकेका छन्।
एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ। पदाधिकारीका सबै पदमा निर्वाचन हुने निश्चित भएको छ। निर्वाचन कार्यतालिकाअनुसार मतदान पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।