काठमाडौं, मंसिर २९ :

नेकपा एमालेको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएकाहरुको नामावली राति ८ बजे सार्वजनिक प्रकाशित गरिने भएको छ । अहिले सूची तयार गर्ने काम भइरहेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। त्यसअघि उम्मेदवारमाथि परेका उजुरीमाथि छानबिन हुनेछ।

पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि करिब १ हजार २ सय जनाले उम्मेदवारी फाराम लगेका थिए। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचन कार्यक्रम संशोधन, सर्‍यो मतदानको समय

नयाँ निर्वाचन कार्यक्रमअनुसार, मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ।  उम्मेदवारी दर्तामा ढिलाइ भएपछि मतदानको समय सारिएको निर्वाचन आयोगले जनाएको छ। यसअघि बिहानैदेखि मतदान हुने कार्यक्रम तय गरिएको थियो। यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा जस्तै यस पटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ।