
महाकाव्यकार डा नवराज लम्सालको महाकाव्य कल्प केन्द्रित प्रस्तुति काव्य साँझ कल्प सम्पन्न भएको छ ।
ए क्युब प्रमोसनद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा डा लम्सालले आफ्नो चौथो महाकाव्य कल्पका हरफहरू सुनाइरहँदा डा निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थिए । डा भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।
कल्प महाकाव्य प्रकृति,संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए । डा लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो ।
यसरी बाँसुरीसहित महाकाव्य लिएर डा लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत हुनुभएको हो । आफैँ पनि लामो समय रेडियो प्रसारणमा बिताउनु भएका डा लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे ।
ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
साहित्यकार डा लम्साल साहित्य र आधुनिक सञ्चारका अगुवा मानिनुहुन्छ । उहाँका चार महाकाव्यसहित १० पुस्तक प्रकाशित छन् ।