
सात दलीय गठबन्धनले मधेस प्रदेशको सभामुख जसपा नेपाललाई दिने सहमति गरेको छ । सभामुख चयनका लागि बुधबार बस्ने प्रदेशसभाको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ ।
जसपा नेपालका महासचिव लालबाबु राउतका अनुसार सभामुख जसपा नेपाललाई दिने निर्णय भइसकेको छ । कार्यतालिका सार्वजनिक भएपछि पार्टीले उम्मेदवार टुंग्याउनेछ । सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवको नाम अगाडि देखिएको छ । सभामुख चयन भएपछि मात्र जसपा नेपाल सरकारमा सहभागी हुनेछ ।कांग्रेसका प्रमुख सचेतक कुवरकान्त झाले पुस ५ गतेसम्म सभामुख चयन प्रक्रिया टुंग्याइने जानकारी दिए ।
यसैबीच, मधेस प्रदेश सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेको छ । लोसपाकी रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति र नेकपाका जवाहर कुशवाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन् । जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या र कनिष्क पटेललाई उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।