जनकपुर, पुस १ :

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिनुअघि नै सत्ता साझेदार दलहरूबीच असन्तुष्टि चुलिएको छ। तेस्रो ठूलो दल जनमत पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी अन्य दललाई दिइएको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

चालु आर्थिक वर्षमा उक्त मन्त्रालयमार्फत १० हजार रोजगारी सिर्जना गर्ने कार्यक्रम रहे पनि मन्त्रालय एकीकृत समाजवादीका कनिश पटेललाई दिइएपछि जनमत पार्टी असन्तुष्ट बनेको हो। 

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष बसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत पार्टीको उद्देश्यअनुसार सुनिश्चितता नभए सरकारबाट अलग हुन तयार रहेको बताएका छन्। हालै मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नयाँ मन्त्रीहरू नियुक्त भएसँगै सत्ता गठबन्धनभित्र तनाव बढेको देखिएको छ।