काठमाडौं, पुस १ :

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय तोकिएको छ। पटक–पटक तालिका परिवर्तन भएपछि अन्ततः आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुने भएको हो।

केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका संशोधन गर्दै उक्त समयावधि निर्धारण गरेको जनाएको छ। यसअघि मतदान समय मध्याह्न १२ बजेपछि दिउँसो ४ बजेसम्मका लागि तय गरिएको थियो।

निर्वाचनमा ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ। करिब ६ सय उम्मेदवार रहेकाले एक जना प्रतिनिधिले मतदान गर्न करिब ३० देखि ४० मिनेट समय लाग्ने आयोगको अनुमान छ। कुल २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने जनाइएको छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।