
काठमाडौं, पुस २ :
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमले निर्वाचनको नतिजा राति साढे १० बजेअघि नै सार्वजनिक हुने जानकारी दिए ।
बुधबार बिहान काठमाडौंको भृकुटीमण्डपस्थित मतदान स्थलमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताए ।
उनका अनुसार कुल मतदाताको संख्या र भोटिङ मेसिनमा लाग्ने समयको आधारमा मतदान प्रक्रिया अगाडि बढाइएको छ । एक जना मतदातालाई मतदान गर्न करिब २० मिनेट लाग्नेछ ।
एकपटकमा ८० जनाले भोट हाल्न पाउने व्यवस्था गरिएको अनुसार करिब आठदेखि साढे आठ घण्टाभित्र मतदान सकिने अनुमान छ । अध्यक्षमा केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् ।