
काठमाडौं, पुस ३ :
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकटका नेता विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्। उनीहरूले क्रमशः १ हजार ४५२, १ हजार ३६८ र १ हजार ३४८ मत प्राप्त गरेका हुन्। एमाले विधानअनुसार पार्टीमा तीन जना उपमहासचिव रहने व्यवस्था छ।
उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको थियो। यस प्रतिस्पर्धामा अध्यक्ष ओलीका विश्वासपात्र मानिएका विष्णु रिमाल चौथो स्थानमा सीमित हुँदै १ हजार ९१ मत प्राप्त गरे।
त्यस्तै, पाँचौँ स्थानमा रहेका आनन्दप्रसाद पोखरेलले ६३५ मत पाए भने छैटौँ स्थानमा रहेका वैजनाथ चौधरीले ५१७ मत प्राप्त गरे। अन्तिम स्थानमा रहेका राजेन्द्रप्रसाद गौतमले २७० मत पाएका छन्।