
नेपाली कम्युनिस्ट पार्टी नेकपाले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गर्दैछ ।
बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने दाबी सो पार्टीको छ ।
आज बिहान ११: ३० बजे सुनधारा,नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा भई सबै जना एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने बताइएको छ ।
सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभा भृकुटीमण्डपको तीनकुने सडकमा हुनेछ ।
कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए ।
पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आम सभा गर्दै आएको थियो ।सोही अनुसार आज काठमाण्डौंमा हुन लागेको हो ।