
चितवनका नदीहरु राप्ती र नारायणीमा दुर्लभ तथा संकटापन्न प्रजाति घडियाल गोहीको संख्या बढेको पाइएको छ।
राप्ती नदीमा २ सय ३१ र नारायणी नदीमा १ सय ३५ वटा घडियाल गोही फेला परेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको अनुगमन तथा गणनामा राप्ती र नारायणी नदीमा घडियाल गोही प्रत्यक्ष रूपमा देखिएको निकुन्जले जनाएको छ ।
गत वर्ष दुवै नदीमा गरी ३५२ वटा घडियाल गोही देखिएका थिए।
यस वर्षको अनुगमनमा घडियाल गोहीको संख्या बढेसँगै भाले घडियालको संख्या पनि वृद्धि भएको पाइएको छ। राप्ती नदीमा ७ वटा र नारायणी नदीमा २ वटा गरी ९ वटा भाले घडियाल गोही देखिएको निकुञ्जले जनाएको छ।
निकुञ्जले २०८२ साल मंसिर २१ देखि २९ गतेसम्म राप्ती र नारायणी नदीमा घडियाल गोही तथा यसको बासस्थानको अवस्था बुझ्न प्रत्यक्ष अनुगमन गरेको थियो।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा सन् १९७८ देखि घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ। केन्द्रले हरेक वर्ष घडियालका अण्डा संकलन गरी बच्चा हुर्काएर राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा छाड्दै आएको छ।
यसैबीच घडियाल गोहीको गणनाका क्रममा राप्ती र नारायणी नदीको संगम गोलाघाट क्षेत्रमा एक डल्फिन पनि देखिएको छ।
नारायणी नदीमा बेलाबखत देखिने डल्फिन जैविक विविधताको दृष्टिले सकारात्मक संकेत भएको निकुञ्जले जनाएको छ। विशेषगरी गोलाघाट क्षेत्रमा डल्फिन देखिने गरेको छ।