
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एकजना युवक मृत भेटिएका छन् ।
ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा भोजपुर अरुण गाउँपालिका–३ घर भएका हाल ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत भेटिएका हुन् ।
हत्या गरेर फालेको अवस्थामा जंगलमा पारुहाङको शव भेटिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले बताए । हत्या गरेर फालेको जस्तो देखिन्छ अहिले अनुसन्धान गरिरहेको उनले बताए ।
पारुहाङको टाउकोमा चोट देखिएको छ । आज बिहान जंगलमा भेटिएका पारुहाङको शव पोस्टमार्टमका लागी भक्तपुरको केएमसी अस्पतालमा राखिएको छ ।
यसअघि सिन्धुली गोलन्जोरका गाउँपालिका–३ का हायु पुस २ मा ललितपुरकै शेरेफाँटमा मृत भेटिएका थिए । फार्म हाउसको इनारमा बोरामा प्याक गरेर फालेको अवस्थामा शव हायुको शव भेटिएको थियो ।
पारुहाङ र ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा भएको केशवराज हायुको हत्या बिच ‘कनेक्सन’ देखिएको छ ।
हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा रहेको आशङ्का गरिएको छ ।
हायुको हत्यामा संलग्न आशंकामा दुईजनालाई पक्राउ परेका छन् । पक्राउ पर्ने एकजना सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल हुन् ।
उनी मृतक हायुका बहिनी ज्वाइँ हुन । पक्राउ परेका अर्का एकजना आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।