
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई आचारसंहिता उल्लङ्घनको आरोपमा निलम्बन गरिएको छ । पार्टी अध्यक्ष साम्पाङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पुस ५ गते बुटवलमा आयोजित आमसभामा पार्टीको निर्देशन विपरीत अभिव्यक्ति दिएको र आयोजक टिमलाई अपमान गरेको आरोप लगाइएको छ ।
साथै जिल्ला सह–संयोजक केशव न्यौपानेलाई अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको दाबी पनि निलम्बनको अर्को कारण देखाइएको छ । यद्यपि दोस्रो कारण सार्वजनिक रूपमा पुष्टि भएको छैन ।
हालै केन्द्रीय कमिटी बैठकबाट उपाध्यक्षमा मनोनीत भएका दलित अभियन्ता परियारको निलम्बन सामाजिक सञ्जालमा चर्चामा छ । मनोनयनको केही सातामै निलम्बनको निर्णय भएपछि श्रम संस्कृति पार्टीभित्र असन्तोष र विवादको शृंखला थप गहिरिँदै गएको देखिएको छ ।
यसअघि पनि पार्टी उपाध्यक्ष देवराज लामा बम काण्डमा नाम जोडिएपछि निलम्बनमा परेका थिए । लगातार उपाध्यक्ष तहका नेतामाथि कारबाही हुँदा ‘शिशु पार्टी’ भनिएको श्रम संस्कृति पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्व शैलीमाथि प्रश्न उठ्न थालेका छन् ।