ललितपुर, पुस १० :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

हिजोबाट सुरु भएको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको सो पार्टीले जनाएको छ ।

हिजोको बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा प्रकाश शरण महतले बताए ।

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेका थिए ।

थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । थापाको प्रस्तावमा नेताहरूले धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।

हिजोको बैठकपछि महामन्त्री थापाले पुष १६ गते गर्ने भनिएको वडा अधिवेशन पुस २१ गते, २३ गते क्षेत्रको अधिवेशन र २६ गते केन्द्रीय महाधिवेशन गर्न सकिने आफ्नो प्रस्ताव रहेको जानकारी दिए। प्रस्तावित कार्यतालिकामा सहमत नभए महाधिवेशनमा नै असर पर्ने उनको भनाइ छ ।

उनले आफूले प्रस्ताव गरेको विकल्प प्रस्ताव अमान्य भए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने स्पष्ट पारे । त्यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवाले नाम मात्रैको कार्यवाहक दिएको आरोप लगाए । पार्टी बैठकमा नआए पनि सभापति देउवाले निवासबाटै पार्टी सञ्चालन गरेको टिप्पणी गरे ।

पार्टीको सर्वोत्तम हितका बारेमा सबैभन्दा बढी सभापतिले चिन्ता गर्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले महामन्त्री थापाको प्रस्तावमाथि छलफल सुरु भएको जानकारी दिए । कार्यतालिका हेरफेरले महाधिवेशनलाई असर पार्ने अवस्था आउन नहुनेमा अन्य सदस्यहरुको जोड रहेको प्रवक्ता महतले बताए । उनले संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको पनि जानकारी दिए ।