चितवन, पुस १० :

नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले आरोपप्रत्यारोपले देश बन्न नसक्ने बताएका छन् । तमू (गुरुङ) संघ नेपाल, चितवनको आयोजनामा बुधबार भरतपुरमा भएको कार्यक्रममा बोल्दै उपसभापति गुरुङले पार्टी भित्र एकले अर्कालाई खुईल्याउने क्रम बढेको बताए । 

राजनैतिक दलमा बढ्दै गएको आरोपप्रत्यारोपका कारण राजनैतिक दल र नेताप्रति आम जनतामा गलत धारणा बन्दै गएको उनको भनाइ थियो ।

नेपाली राजनीतिमा कर्म गर्ने भन्दा गाली गर्नेहरु हावी हुँदै गएको भन्दै उपसभापति गुरुङले नेपाली राजनीतिमा धर्म र कर्मको कमी हुँदै जाँदा भदौ २३ र २४ को जेनजी आन्दोलन भएको उल्लेख गरे । 

 एउटै पार्टीमा बसेर पनि अलिकति कमजोर देख्नसाथ दुश्मन देख्ने प्रवृत्ति निकै हानिकारक हुनेहुँदा यस्तो खेलमा नलाग्न उनले सबैको ध्यानाकर्षण समेत गराए ।