रौतहट, पुस १२ :

रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा आज बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ। घाइतेको पहिचान र विस्फोटको ठोस कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते तथा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

सम्भावित थप क्षति हुन नदिन सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिँदै सुरक्षा व्यवस्था कडा बनाएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले घटनाको पुष्टि गर्दै अनुसन्धानका लागि थप टोली परिचालन गरिएको जानकारी दिएका छन्। यसैबीच स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको आरोप लगाएका छन्।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ।