काठमाडौं, पुस १४ :

नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा बयान दिन पुगेका छन् ।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा गृहमन्त्री रहेका लेखकसँग ती घटनाबारे छानबिन गर्न गठित आयोगले बयान लिन लागेको हो । आयोगले आन्दोलनका क्रममा भएका गतिविधि र सरकारी पक्षको भूमिकाबारे स्पष्ट पार्न लेखकलाई बोलाएको जनाएको छ ।

बयान सकिएपछि लेखकले दिउँसो २ बजे कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो बयानबारे जानकारी गराउने बताएका छन् ।

भदौ २३ र २४ का घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले यसअघि सम्बन्धित निकायका अधिकारीहरूसँग पनि बयान लिइसकेको छ ।

आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । बयान नदिने भनेर अडानमा बसेका ओली पछिल्लो समय बयान दिन तयार देखिए पनि उनी आयोगमा भने नजाने बताउँदै भएका छन् ।