
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको विकल्प खोजे देश अर्को दुर्घटनामा पर्न सक्ने बताएका छन् ।
सोमबार काठमाडौंको वानेश्वर बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रचण्डले मुलुकलाई निकास दिन सवैभन्दा राम्रो विकल्प निर्वाचन भएको भन्दै अन्य विकल्प खोजे अर्को दुर्घटनामा पर्न सक्ने बताएका हुन् ।
देशमा राजनीतिक स्थायित्व र स्थिरताका लागि सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुने वातावरण बनेको उनले बताए । उनले सङ्कटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताए।
त्यस्तै प्रचण्डले नवयुवा पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम जेनजी आन्दोलनले गलत सावित गरिदिएको भन्दै सचेत र जिम्मेवारीपूर्ण ढङ्गले युवाहरु आन्दोलित हुन चाहेको धारणा राखे। शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिन युवाहरुको साथ अपरिहार्य रहेको उनको भनाइ छ ।
प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताए । सामुदायिक शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने उनको भनाइ छ ।