शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश भिडियो

कागेश्वरी मनोहरा नगरपालिकाको १३औँ नगर अधिवेशन सम्पन्न

आर्थिक वर्षको बजेट संशोधन प्रक्रिया अघि बढाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १४ पुस, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरा नगरपालिकाको १३औँ नगर अधिवेशन सम्पन्न
काठमाडौं, पुस १४ :

कागेश्वरी मनोहरा नगरपालिकाको तेह्रौं नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । थलीस्थित नगरपालिकाको सभा हलमा भएको अधिवेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले प्रगति विवरणसहित आगामी बजेट संशोधनसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

अधिवेशनले चालु आर्थिक वर्षको बजेट संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसअघि गत नगरसभामा ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको बजेट अनुमान गरिएको भए पनि यसपटक करिब २ अर्ब रुपैयाँको बजेटलाई उपयुक्त मानिएको नगरप्रमुख कार्कीले बताए ।

उनका अनुसार पछिल्लो समय देखिएका आर्थिक चुनौतीलाई मध्यनजर गर्दै बजेटको आकार घटाउनुपर्ने अवस्था आएको हो । केही राजस्व वृद्धि गर्न सकिने सम्भावनाका योजनाहरूलाई पनि अघि सारिएको उनले जानकारी दिए ।

नगरप्रमुख कार्कीले भदौ २३–२४ मा भएको घटनापछि केही विकास निर्माणका योजनामा प्रत्यक्ष असर परेको बताए । संघीय तथा प्रदेश सरकारबाट अपेक्षित रूपमा अनुदान प्राप्त हुने आशा भए पनि पछिल्लो समय थप चुनौतीहरू देखिएको उनको भनाइ छ ।

चुनौतीलाई ध्यानमा राख्दै नगरपालिकाले हरेक क्षेत्रको बजेट २५ प्रतिशतका दरले कटौती गर्ने प्रस्ताव अघि सारेको छ । सोअनुसार वडामा विनियोजन गरिएको रकम, विभिन्न शाखामा छुट्याइएको बजेट तथा नगरस्तरीय योजनाहरूमा समेत २५ प्रतिशत कटौती गर्ने योजना रहेको नगरप्रमुख कार्कीले बताए ।

अधिवेशनमा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडाध्य तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार