काठमाडौं, पुस १५ :

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा वर्तमान र पूर्वराष्ट्रपतिका छोराछोरीलाई समेत समेटेको छ ।

कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति  रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ । यादवको नाम सूचीको ३१ औं र पौडेलको ६२ औं नम्बरमा रहेको छ ।

त्यसो त केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेती र नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थको नाम पनि समावेश गरेको छ । युवालाई समेट्ने नाममा कांग्रेसले आफन्त र नातागोतालाई नै प्राथमिकतामा राखेको सम्बद्ध पार्टीका नेताहरु बताउँछन् ।

पहिलो नम्बरमा भने सहमहामन्त्री भीष्मराज आङ्दम्बे र दोस्रोमा गोपालमान श्रेष्ठको नाम उल्लेख गरिएको छ । कांग्रेसले रातभरको प्रयासपछि आज बिहान ११० जनाको बन्दसूची तयार गरेको निर्वाचन आयोगमा बुझाएको छ ।