काठमाडौं, पुस १६ :

अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चालु बजेटबाटै आवश्यक खर्च जुटाइने बताएका छन्। 

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले तयारी पूरा नभएका ३ करोड रुपैयाँका करिब ४ हजार योजनाको बजेट रोक्का गरेर निर्वाचन खर्च व्यवस्थापन गरिएको जानकारी दिए।

अर्थमन्त्री खनालले निर्वाचनका लागि कुनै दातृ निकायमा निर्भर नहुने स्पष्ट पार्दै आफ्नै स्रोतबाट खर्च व्यवस्थापन गरिने बताए। उनले आफू अर्थमन्त्री बनेलगत्तै तयारी पूरा नभएका आयोजनाको खर्च रोक्का गरिएको पनि उल्लेख गरे।

उनका अनुसार निर्वाचन आयोगका लागि ६ अर्ब ९ करोड रुपैयाँ स्वीकृति निकासा दिइसकिएको छ र उक्त रकम खर्च हुने क्रममा छ। साथै, करिब १७ अर्ब रुपैयाँ म्यादी प्रहरीका लागि खर्च हुने उनले बताए। सरकारको आउँदो फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।