धनुषा, पुस १७ :

पाँच महिनादेखि तलब नपाएपछि कमला नगरपालिकामा रहेका मदरसा र सामुदायिक विद्यालयका शिक्षकहरु धर्नामा बसेका छन् । पुस १ गतेदेखि विद्यालय बन्द गर्दै शिक्षकहरु धर्नामा बसेका हुन् ।  

नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादका कारण चालू आर्थिक वर्षको बजेट पारित हुन नसक्दा साढे पाँच महिनादेखि नगरपालिका क्षेत्रका मदरसा र सामुदायिक विद्यालय गरी कुल १८ विद्यालयमा कार्यरत शिक्षकहरूले  तलब पाएका छैनन् । विद्यालय बन्द हुँदा ६ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ भने अभिभावकहरू समेत चिन्तित देखिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार चालू आर्थिक वर्षको असार १० गतेभित्रै नगरसभा सम्पन्न हुनुपर्ने कानुनी व्यवस्था भए पनि कमलामा अहिलेसम्म नगरसभा नबोलाइँदा चालू आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन ।