सुनसरी, पुस १७ :

सुनसरीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय युवक विजय साहको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन गर्ने सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच बिहीबार बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउने विषयमा पाँच बुँदे सहमति गरेको हो। सहमतिअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिनेछ, जसमा नेपाल प्रहरी कोशी प्रदेश कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रतिनिधि रहनेछन्। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ।

छानबिन प्रतिवेदनमा सुरक्षा निकायको लापरवाही देखिएमा राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ। साथै मृतक साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन पहल गर्ने र छोरा सशस्त्र प्रहरी बलमा भर्ना हुन चाहेमा आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई बुझाइने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।

तस्करी नियन्त्रणका क्रममा बुधबार राति सशस्त्र प्रहरीले चलाएको गोलीबाट ४५ वर्षीय साहको मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीयको प्रदर्शनका कारण लौकही बजार तनावग्रस्त बनेको थियो। सहमतिपछि अवस्था क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।

यस्तो छ सहमतिका पाँच बुँदा:


१. सशस्त्र प्रहरी बलको गोलीका कारण मृत्यु भएका विजय साहको मृत्यु र गोली प्रहार गर्नु पर्ने कारण र परिणामका सम्बन्धमा छानविन गरी सत्य तथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरीका प्र.ना.उ. र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहने गरी ७ (सात) दिन भित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गर्ने । 

२. छानविन समितिको प्रतिवेदन प्राप्त भए पछी सुरक्षा अधिकारीको लापरवाहीको कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपुर्तीका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरी पठाउने ।

३. मृतक विजय शाहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने ।

४. मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने ।

५. मृतक विजय शाहको शव पोष्टमार्टमको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सो पश्चात मृतक परिवारले दाहसंस्कार गर्ने गराउने ।