काठमाडौं, पुस १७ :

भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ। 

आयोगले बिहीबार उनको स्थान हद फुकुवा गरेको हो।  जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकको भूमिकामाथि अनुसन्धान आवश्यक रहेको ठहर गर्दै आयोगले असोज १२ गते उपत्यका नछाड्न निर्देशनसहित स्थान हद तोकेको थियो।

आयोगले सोमबार र बुधबार लेखकसँग बयान लिएको थियो । उनीसँगको बयान सकिएकाले स्थान हद फुकुवा गरिएको हो । लेखकले बयानसँगै ६ पृष्ठको लिखित जवाफ समेत बुझाएका थिए । 

यसअघि आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालसँग बयान लिएपछि उनीहरूको पनि स्थान हद फुकुवा गरिसकेको छ।