काठमाडौं, पुस १८ :

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय भएको छ । बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि डाकिएको छ ।

पुस २६ देखि निर्धारण गरिएको कांग्रेसको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । यसै सन्दर्भमा हिजो  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति निकाल्दै नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका छन् । र  विशेष महाधिवेशन आव्हान गरेका छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले मिति तोकेरै महाधिवेशन गर्ने तयारी तीव्र पारेको छन्

सोही तयारीअनुसार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको हल पुस २७ र २८ गतेका लागि दुई दिन बुक गरिएको छ। विशेष महाधिवेशनका लागि हल बुक गर्न ७ लाख ५० हजार रुपैयाँसमेत बुझाइसकिएको स्रोतले जनाएको छ।

१५औँ महाधिवेशन कार्यतालिकाअनुसार प्रक्रिया अघि नबढेपछि विशेष महाधिवेशन अपरिहार्य बनेको दाबी गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सक्रिय भएका हुन्।

यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए। विधानअनुसार नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बाध्यकारी हुने उनीहरूको तर्क छ।

महामन्त्रीद्वय थापा र शर्माले आज सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउनुका साथै विशेष महाधिवेशनको अध्यक्षता ग्रहण गरिदिन आग्रह गर्ने तयारी गरेका थिए। तर, सभापति देउवाले समय नदिएपछि भेटघाट हुन नसकेको केन्द्रीय सदस्य अजय शिवाकोटीले जानकारी दिए।

विशेष महाधिवेशन पक्षधरहरूले नीति, नियम र विधानअनुसार ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर हुँदाहुँदै पनि विशेष महाधिवेशन नगर्नु संविधान र विधानको उल्लङ्घन हुने दाबी गर्दै आएका छन्।

विशेष महाधिवेशन पक्षधरले पुस २७-२८ का लागि भृकुटीमण्डपमा हल बुकिङसमेत गरेको अवस्थामा कांग्रेसमा महाधिवेशनको मुद्दा अझ पेचिलो बनेको छ ।

सभापति शेरबहादुर देउवाले घात प्रतिघात बढ्ने भन्दै प्रतिनिधिसभा चुनावअघि महाधिवेशन नहुने प्रष्ट पारिसकेका छ्न् । विशेष महाधिवेशन बोलाउने/नबोलाउने अधिकार केन्द्रीय समितिलाई हुने संस्थापन पक्षका नेताले बताइरहेका छन् ।

आज बस्न लागेको कार्यसम्पादन समितिलाई चासोका साथ हेरिएको छ ।