सुनसरी, पुस १८ :

सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनामा सशस्त्र प्रहरी बलका एक वरिष्ठ हवल्दारसँग सोधपुछ गरिएको छ।

सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार नवराज खतिवडालाई बिहीबारदेखि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बोलाएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेले बताए ।

बुधबार मध्यराति सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो। लौकही नाकाबाट तीन वटा अटो रिक्सामा चिनी लिएर आएको समूहलाई सशस्त्र प्रहरीले गोली हानेको बताइएको छ।

सशस्त्र प्रहरी बलले भने तस्करको समूहले पहिला गोली चलाएपछि जवाफी कारबाही गर्दा घटना भएको दाबी गर्दै आएको छ। घटनाको छानबिनका लागि समिति गठन गरिएको छ भने प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।