काठमाडौं, पुस १८ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका क्रममा देखिएका मुआब्जा समस्यालाई समाधान गर्ने बताएका छन् ।

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको जलविद्युत् परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको प्रभाव र समाधानसम्बन्धी छलफल कार्यक्रममा मन्त्री घिसिङले तनहुँ हाइड्रोपावर लगाएतका अन्य परियोजना निर्माणका क्रममा देखिएका मुआब्जा समस्यालाई समाधान गर्ने बताएका हुन्।

केही जग्गाधनीले नगद मुआब्जाको सट्टा जग्गाको बदलामा जग्गा उपलब्ध गराउनुपर्ने बिषयमा छलफल भएको उनले बताए । उनले मुआब्जा समस्यालाई समाधानका लागि धेरै प्रयास गरिरहेको भन्दै स्थानीय समुदाय पनि सहमतिमा आउनुपर्नेमा जोड दिए । मुआब्जा समस्यालाई समाधान हुन नसकेको अवस्थामा आयोजनाको लागत निकै उच्च हुने भएकाले सरकारले यसमा विशेष ध्यान दिएको उनको भनाइ छ ।

दातृ निकायको मापदण्डअनुसार मुआब्जा समाधान गर्नुपर्ने आवश्यकता भन्दै उनले परियोजनाको सामाजिक पक्षप्रति सरकार गम्भीर रहेको स्पष्ट पारे। आयोजनाको लागत महङ्गो भए त्यसबाट उत्पादित विद्युत समेत महङ्गो हुने अवस्था आउने उनले बताए ।