काठमाडौं, पुस १९ :

नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्षको छलफल अहिले जारी छ ।

विशालबजार स्थित कोइरालाको सचिवालयमा छलफल जारी रहेको बताईएको छ ।

छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँ सहित ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी रहेको बताईएको छ ।  

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय बहुमतले गरेपछि शेखर समूह छलफलमा जुटेको हो ।

निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मी रहेका छन् ।

१४ औँ महाधिवेशनमा शेखर गगन समूह एक भएर प्रतिस्पर्धा गरेको थियो ।

१५ महाधिवेशनका लागि भने यो दुई समुहबिच सहकार्य हुन सकेको छैन ।

हिजोको कार्यसम्पादन समितिको बैठकले बैशाखमा महाधिवेशन गर्ने गरी नयाँ मिति तय गरेसंगै महामन्त्री थापाले भने पुसभित्र विशेष महाधिवेशन हुने बताएका छन् । यो परिस्थिति सिर्जना भएपछि कांग्रेस महाधिेशनको बिषय अन्यौल भएको छ ।