काठमाडौं, पुस २० :

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज साँझ भारत जादैछन् ।

नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी भारत जान लागेको बताईएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको नेपाली समाज भारतका महासचिव आरबी खड्काले बताए ।  

भारतमा  उनको अरु कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको सचिवालयले जनाएको छ । प्रचण्ड भोलि साँझ नै  स्वदेश फर्किने कार्यक्रम छ ।