
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था र आगामी निर्वाचनको तयारीका विषयमा छलफल भएको छ।
संयोजक दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार भेटवार्तामा प्रतिनिधिसभा निर्वाचनअघि हुने राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने विषयमा समेत छलफल भए पनि यसबारे ठोस सहमति भने भइसकेको छैन।
राष्ट्रिय सभा निर्वाचन प्रतिनिधिसभा निर्वाचनभन्दा अघि हुने भएकाले त्यसको रणनीति र राजनीतिक वातावरणबारे नेताहरूबीच विचार–विमर्श भएको बताइएको छ।
भेटका क्रममा संयोजक दाहालले फागुन २१ गते हुने निर्वाचनमा संविधानलाई सही दिशामा लैजान प्रमुख सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने प्रस्ताव राखेका थिए। त्यसको जवाफमा अध्यक्ष ओलीले सरकारले नै निर्वाचनका लागि आवश्यक वातावरण बनाउन चासो नदेखाएको अवस्थामा निर्वाचन सहज नहुने धारणा राखेका थिए। दुवै नेताबीचको भेटलाई पछिल्लो राजनीतिक समीकरण र आगामी निर्वाचनसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।