सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र समेत स्वीकृत गर्ने, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२, स्वीकृत गर्ने र वन तेस्रो संशोधन नियमावली २०८२, स्वीकृत गरेको छ ।
सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गरेको छ ।
यस्तै समस्याग्रस्त सहकारी संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषको निर्णय:
१) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ।
२) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।
३) जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
४) नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
५) नेपाल सरकार र इजरायल सरकार बीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ।
६) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
७) वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
८) नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।