
नेपाली कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् ।
सोमबार आफ्नै सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूको छलफलमा उनले यस्तो बताएका हुन् । केन्द्रीय समितिले नै महाधिवेशन बोलाउँदा एकताको सन्देश जाने पनि कोइरालाको भनाइ छ । अहिले राष्ट्रिय सभा र प्रतिनिधिसभाकै उम्मेदवार टुंग्याउनुपर्ने बताएका हुन् ।
नेता कोइरालाले कांग्रेसले प्रतिनिधिसभा चुनावमा कसैसँग गठबन्धन गर्न नहुनेसमेत बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई-चार सिट बढी आए पनि समानुपातिकमा मत घट्ने उनको भनाइ छ ।
छलफलमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रूपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । छलफलमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायतका नेताहरु थिए ।