
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आउनुभएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए।
त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा घिसिङलाई बधाई र धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
“निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ”, प्रधानमन्त्री कार्कीले भने, “रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्काबेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्याङ्कन गर्ने छन् ।”
मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गर्नुभएकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे ।
घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको छ । समझदारीअनुसार उनी रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ ।