काठमाडौं, पुस २४ :

कुलमान घिसिङले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले बाँडफाँड गरेकी छन् । घिसिङ्ले बुधबार पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी मौजुदा मन्त्रिपरिषद्‍‍का अन्य सदस्यलाई थपेकी हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री अनिलकुमार सिन्हालाई थपिएको छ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभारसमेत वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले र सहरी विकास मन्त्रालयको कार्यभारसमेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्‍नामले सम्हाल्ने छन् । प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई जिम्मेवारी तोकेको राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।