काठमाडौं, पुस २५ :

खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा परेको छ ।

गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेपछि उनी विवादमा परेका हुन् ।  एक विज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाले कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको प्रस्ट पारेको हो ।

एनआरएनए अमेरिकाका नाममा मन्त्रीको खण्डन र बचाउमा दुईथरि विज्ञप्ति जारी भएका छन् ।

पहिलो विज्ञप्तिमा एनआरएनएको खेलकुदमन्त्रीलाई बोलाउने कुनै कार्यक्रम नरहेको जनाइएको छ । दोस्रोमा भने बोलाइएको दाबी गरिएको छ । पहिलो विज्ञप्तिमा एनआरएनए प्रवक्ता भनेर सन्देश उप्रेतीले र दोस्रोमा प्रवक्ता नै भनेर द्रोण गौतमले हस्ताक्षर गरेका छन् ।

गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एसीसी युएसए)ले नेपालबाट युवा तथा खेलकुमद मन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणमा नबोलाइएको स्पष्ट पारेको हो । संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए एसीसी युएसएका नाममा अनैतिक र झुटपूर्ण कार्य भएको भनेको छ । उसले विज्ञप्ति निकालेर संस्थाका नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गैरकानूनी गतिविधि भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

यताअर्को  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका प्रवक्ता द्रोण गौतमले अर्को विज्ञप्ति जारी गरेर युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर सार्वजनिक रूपमा उठेका विभिन्न टीकाटिप्पणीमा ध्यानाकर्षण भएको जनाएका छन् ।

बुझिएअनुसार अमेरिकामा एनआरएन विभाजित अवस्थामा रहेकोले दुई गुटले दुईथरि विज्ञप्ति निकालेका हुन् ।