काठमाडौं, पुस २५ :

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला यही पुस २७ र २८ गते आयोजना हुने भनिएको महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरूका लागि भेला हुने स्थान तोकेको छ।

समितिले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरूलाई सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, पद्मोदय–शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलमा भेला हुन निर्देशन दिएको हो। ती स्थानमा भेला भएर महाधिवेशन स्थल भृकुटीमण्डप पुग्ने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

संस्थापन पक्ष विशेष महाधिवेशनका लागि तयार नभएको अवस्थामा पनि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्ने निर्णय अघि बढाएका हुन्। तर गत शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको थियो।

गत २९ असोजमा पेस गरिएको निवेदनमा समयमा नियमित महाधिवेशन नभए मात्र विशेष महाधिवेशन हुनुपर्ने माग गरिएको थियो। तर नियमित महाधिवेशनको तालिका सार्वजनिक भइसकेपछि विशेष महाधिवेशनको आवश्यकता नरहेको संस्थापन पक्षको तर्क छ।