सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमार्फत योग्य र सक्षम व्यक्ति चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
सांस्कृतिक समाजद्वारा आज काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री खरेलले परिवर्तनलाई आत्मसात गर्दै दलको दबाव र प्रभावमा नपरी सक्षम र योग्य व्यक्तिलाई जिताउन आग्रह गरे ।
मन्त्री खरेलले भने, “विभिन्न दबाब र प्रभावमा परेर मत दिएर पाँच वर्ष आशा र निराशाबीच बाँच्नुपरेको छ, त्यसैले फागुन २१ गते निर्वाचन हुदैँछ, आफ्नो विवेक प्रयोग गर्नुपर्छ, किनकी अबको भोट परिवर्तनका लागि हो ।”
मन्त्री खरेलले विभिन्न राजनीतिक परिवर्तन तथा भाषा, संस्कृतिको उत्थान र प्रवद्र्धनमा सुदूरपश्चिम र कर्णालीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भने, “सुदूरपश्चिम र कर्णाली हुनुको पहिचान हाम्रो भाषा, संस्कृति र जीवनशैलीमा छ, गीतसङ्गीतमा तरङ्गित भएका देउडालगायत भाकाले सिङ्गो देशलाई एकताबद्ध बनाएको छ ।”
सुदूरपश्चिम र कर्णालीको योगदानलाई काठमाडौँले भुल्न नहुने मन्त्री खरेलको भनाइ थियो । “नेपाली भाषाको उत्पत्ति कर्णालीको सिञ्जा उपत्यकाबाट भएको हो, संस्कृति, सभ्यता, भाषा र वेषभुषा पनि त्यहीँबाट आएको हो । तर काठमाडौँले सुदूरपश्चिम र कर्णालीलाई हेरेन । म राजनीति गर्ने नेताहरुलाई भन्न चाहन्छु, ‘अब त्यो क्षेत्रलाई अन्याय गर्न पाइँदैन’”, उनले भने ।
विगतका सबै किसिमका राजनीतिक परिवर्तनदेखि जेनजी आन्दोलनमा समेत सुदूरपश्चिम र कर्णाली प्रदेशले ठूलो बलिदान र सङ्घर्ष गरेको उहाँले उल्लेख गरे । “देश जब सङ्कटमा पर्छ, सुदूरपश्चिम र कर्णाली प्रदेशको योगदान रहेको छ, त्यसैले यो योगदानको अबमूल्यन नगरियोस्”, उनले भने ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपाली संस्कृति र सम्पदाको जगेर्नामा सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अथाह सम्भावना बोकेको सुदूरपश्चिम हरेक हिसाबले पछि परेको गुनासो गरे। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुयार्उने स्रष्टाहरुलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।