काठमाडौं, पुस २७ :

आज देखि सुरु हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अधिकांश जिल्लाबाट विशेष महाधिवेशन पक्षधर काठमाडौँ आइसकेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि  भएको छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता भएको छ ।

उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात,एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिइ आउन समेत अनुरोध गरेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ ।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए ।

कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

संस्थापनको बेवास्तापछि सोही विधानको दफालाई टेकेर कांग्रेसलाई पुनःजागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो ।