
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका छन् । भृकुटीमण्डमा भएको महाधिवेशनको उनीहरूले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नगएपछि महामन्त्रीद्वयले उद्घाटन गरेका हुन् ।
उद्घाटनका लागि पार्टी सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई ल्याउन पहल गरिएको थियो । नेता,कार्यकर्ता र प्रतिनिधिहरु काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भेला भई र्यालीसहित महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका थिए ।
ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ जाँदै गर्दा कार्यकर्ताहरुले विशेष महाधिवेशनको पक्षमा नारा लगाएका थिए ।
पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको छ । आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरबाट सुरु भएको छ । भोलि बन्दसत्र हुने बताइएको छ ।
संस्थापन पक्षका को-को पुगे ?
पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा संस्थापन पक्षका केही पुराना नेताहरु पनि उपस्थित भएका छन् ।
नेताहरु तारामान गुरुङ, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, महालक्ष्मी उपाध्याय डिना संग्रौला, कर्ण मल्ल अर्जुन जोशी, अर्जुननरसिंह केसी, तारानाथ रानाभाट उपस्थित छन् ।